आजदेखि सबैप्रकारका शिक्षण सिकाई क्रियाकलाप बन्द !

१ साउन ०७७, काठमाडौं । प्याब्सन तथा नेसनल प्याब्सनद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आजदेखि अनलाईन कक्षाहरु औपचारिकरुपमा बन्द गरेको छ ।

सरकारले आफ्ना मागहरु सुनुवाई नगरेको भन्दै बुधबार प्याब्सनका अध्यक्ष टिकाराम पुरी र नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर साउन १ गतेदेखि अनलाईन कक्षाहरु औपचारिकरुपमा बन्द गरिएको बताएका हुन् ।

मुलुकभर लगभग ३० लाख विद्यार्थीहरुको शैक्षिक भविष्यप्रति चिन्तित हुँदाहुँदै पनि शून्य आम्दानीको कारण करिब २ लाख ५० हजार शिक्षक कर्मचारीलाई बैशाख महिनादेखि तलव दिन र विद्यालयको घरभाडा, बैंकको किस्ता तथा व्याज, विमा, टेलिफोन, बिजुली, इटरनेट इत्यादि खर्च धान्न नसक्ने भएपछि अनलाइन कक्षा बन्द गरिएको विज्ञप्ति बताइएको छ ।

“२०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरी आफ्ना शिक्षक–कर्मचारीहरूलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौ,” विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चात मात्र विद्यालयका प्रशासन खुल्ला हुनेछन् ।”

यस्तै अनलाइन क्लास लिइरहेको निजी विद्यालयहरुले अभिभावकहरुलाई सूचना पठाएर प्याव्सन तथ नेपाल प्याब्सनको संयुक्त विज्ञप्तिहवाला दिँदै अर्को सूचना नआएसम्मका लागि सबैप्रकारका शिक्षण सिकाई क्रियाकलाप बन्द भएको बताएको छ ।

“प्याब्सन तथा नेशनल प्याब्सनद्वारा संयुक्तरुपमा जारी गरिएको परिपत्रअनुसार विद्यालयले सञ्चालन गरिरहेको सबै प्रकारका शिक्षण सिकाई, क्रियाकलाप लगायत अन्य प्रशासनिक गतिविधिहरु मिति २०७७ श्रावण १ गतेदेखि अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको कुरा यसै पत्रद्वारा जानकारी गराउँदछौं,” आदर्श विद्या मन्दिर, ललितपुरको सुचनाका भनिएको छ, “यसबाट पर्न गएको असुविधाप्रति विद्यालय क्षमा प्रार्थी छ ।”