सन् १७७९ मा फ्रान्सबाट बलेको प्रजातन्त्र र समानता आन्दोलनको विगूलले संसारलाई झकझक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको बिश्व शक्ति केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो । भारतमा ईस्ट ईण्डिया कम्पनीका नाममा बेलायतले राज गरेको थियो, विभिन्न देश अनि भू–भागलाई शक्तिशाली राज्यहरुले आफ्नो उपनिवेश बनाएका थिए र उपनिवेशको क्रमसँगै दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न एतिहासिक दस्तावेजहरुको अध्यनले बताउँदछ ।
अफ्रिकी भूभागहरुबाट दास बनाएर जनावर सरी सिक्रीले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै बिकसित देशहरुका विशाल शहरहरुको विकास अनि निर्माण गरिएको इतिहास छन् । दास अर्थात् कहिँकसैको सम्पूर्ण अधिनमा मानव नै मानवको पशु जस्तो नोकर रहने चलन हो । पशुवत ब्यवहार अनि बलजफ्ति कुनैपनि कार्यमा लगाउने यी दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको यूद्धमैदान अर्थात् रणभूमिमा कुस्ती लडाएर मृत्यूवरण नहुञ्जेलसम्म खेलाइने हृदयविदारक लडाईका क्रमदेखिनै पाइन्छ । एक किसिमले भन्ने हो भने शक्तिशाली र धनी समाजले गरिब र निरीह मानवहरुमाथि गर्ने यो पशुवत चलन ब्यापक अमानवीय थियो ।
ग्रिक एरिनामा नमरुञ्जेलसम्म खेलाइने कुस्तीमा ग्लाडिएटरहरुको प्रयोग गरिन्थ्यो, बजारमा बाँधेर बिक्री गरिने अनि दासका रुपमा राखिने यी बलिया ग्लाडिएटरको कुस्ती, दुःखदायी जीवन अनि उनीरूका प्रेम कथाहरु अझै पनि धेरै पुस्तक अनि चलचित्रमा देख्न पाइन्छ । अझ परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन पनि थियो । अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अङ्ग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झ–झल्को दिन्छ । कमैया प्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकरको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहीँकतै अझैपनि कायम नै छ । शुरुवात अनि चलन जे–जसरी चलेको भएपनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य छ ।
हरेक वर्षको डिसेम्वर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायत संसारभरि मनाउने चलन छ । सन् १९४९ देखि यस दिवस मनाइने गरेको छ ।
पक्कै पनि समाज र संसारमा शताब्दीपुराना तरिकाका दास तथा दासताका उदाहरणहरू अब जीवित छैनन् तर दासताको परिवर्तित स्वरुपहरु मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन ब्यवसायमा लगाइने तौरतरिकाहरुमा जिवन्त सक्रिय छन् । अझै पनि बालवालिकालाई विभिन्न नाम अनि ढङ्गमा जोखिमपूर्ण तथा गैरकानूनी कायमा लगाइन्छ । चाहे त्यो खूला सिमानाबाट गैह्रकानूनी तस्करीको श्रोतको रूपमा प्रयोग गरिंदै आएका उदाहरण होऊन अथवा होटल तथा लजहरूमा भाँडा टल्काउने नानीबाबूहरु यो दिन विशेषले यी आधूनिक स्वरुपका दासता विरुद्ध आवाज उठाउँदछ । यस्ता आधुनिक दासताका घटनाहरु नेपालजस्ता देशमा धेरै सुनिने गरिन्छ किनभने हामी विकासोन्मुख छौं तर विडम्वना राज्य यस्तो अवस्थामा बलियो र प्रभावकारी रूपमा उभिएको अनूभूति हुँदैन ।
एकातर्फ हरेक दिन १५०० बढी यूवाहरु विदेश गइरहेका छन्, अर्कोतर्फ हरेक दिन दर्जनौँ काठका बाकसमा फिर्ता आएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षालाई ध्यान दिनतर्फ सरकारले जोड दिनु जरुरी छ । स्वाभिमानी नेपाली कुनैदेशमा दास बन्न हैन पसिनाको मूल्य र रोजगारका लागि मात्र गएका हुन भन्ने आवाज सरकारका कुर्सीहरु अनि रोजगार दिने देशहरुले पनि बुझ्न जरुरी छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमिकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यमा लगाइन्छ र यसमा श्रमिक महिला र बालबालिकाको संख्या बढी छ । दासताको यो आधूनिक यूगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरु एक हुनकालागि आजको दिनले विगुल बजाउन मद्दत गरोस् ।
नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९१ वर्ष अगाडि विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ कायम नै छ । अहिले पनि पश्चिम नेपालमा पीढिदरपीढि मालिकको घरमा बधूवा कम्लरी बस्नुपर्ने प्रथाको नमिठो अनुभूतिबाट बाहिर पूर्णत् निस्कन सकेको छैन । फेरि दाहो¥याउन मनलाग्यो कि शुरुवातमा ललाईफकाई चेलीबेटीहरुलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने अर्थात् बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरुले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिएका छन् भने दासताको नवीनतम स्वरुपका रुपमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु अनि उनिहरुमाथि हुने शारीरिक, मानसिक दमनका विभिन्न अमानवीय व्यवहारका समाचारहरू बेलाबखत आइरहेका हुन्छन् । हरेक दिनजसो प्रवासबाट फर्केर आएका काठका बन्द वाकसले गवाही दिइरहेका छन् कि दासताको कठोर स्वरूप भयावह छ । निरीह सरकार र मौन नागरिक समाजको कानमा भरिएको तेल झरोस् अनि असुरक्षित बन्दै गइरहेको वैदेशिक रोजगारीले बनाउँदै गरेको गुलामी र दासताको नवप्रयोगहरूका विरूद्ध मापदण्डहरू तयार होउन र रोजगारीमा गएका श्रमिक कामदारहरू स्वस्थ्य अवस्था मैं स्वदेश फिरेर केही गर्न सकून् । ७२ सालको भुईँचालोपछि नेपालीहरूको विदेशिनेक्रम थप दर्दनाक वृद्धि भएको देखिन्छ ।
कलम समाउनुपर्ने हातहरू गलैँचा उद्योग होस् या ईंट्टा भट्टा, माइक्रो बस, अन्य सार्वजनिक यातायातका साधनमा झुण्डिने भाइ–बहिनीहरु हुन या कथित मुक्त कमैयाका घाउका खतहरु, कम्लरीका पीडाहरू या वादी महिलाले भोगेका पीडादायी चलनका इतिहास किन नहुन् चौतर्फीरुपमा दासताका स्वरुपहरु घुमिरहेका छन् । तिनलाई न्याय दिन अनि अन्त्य गर्न तपाई–हाम्रो साथ, नैतिक सहमति र साझा धारणा व्यवहारमा आउन जरुरी छ ।
आफ्नो ख्याल गर्नुहोला अहिले पनि अदृश्य मानव वेचविखनका अनेक प्रयोग भई रहेछन् ।
सुयोग ढकालले तयार पारेको लेख ‘हाम्रो पात्रो’बाट साभार गरिएको हो ।