२८ मंसिर, काठमाडौ । आज मंसिर पूर्णिमा पूर्वी नेपालमा बसोवास गर्ने किराँत समुदायका राई, लिम्बुले उधौली पर्व र नेवार समुदायले यमोरी पुन्हिं मनाएका छन् ।
किराँतहरुको प्रमुख चाड मध्येको उधौलीका अवसरमा राजधानी र पूर्वी नेपालका विभिन्न स्थानमा कार्यक्रम मनाएका छन् । जाडो याम शुरु भएको संकेत स्वरुप मनाईने उधौली पर्वमा परम्पराअनुसार प्रकृति पूजा, दीप प्रज्वलन, शुभकामना आदानप्रदान तथा आफन्त भेटघाट गर्ने चलन छ ।
किराँत समुदायले बैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन् । किराँत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोल स्यादरका नाममा यो पर्व मनाउने गर्दछन् ।
त्यसैगरी उपत्यकाका आदिवासी नेवार समुदाय तथा देशभर रहेका नेवारी सम्प्रदायले आजै योमरी पुन्हीं मनाइरहेका छन् । नयाँ बाली भित्राएको खुसीयालीमा मनाइने यो पर्वमा यमोरी नामको विशेष परिकार तयार गरिन्छ ।
चामलको पिठोबाट गणेश, लक्ष्मी, ज्यापू, ज्यापूपुन्ही, ख्याक, कुबेर लगायतको प्रतिक बनाएर ढुकुटी पूजा पनि गरिन्छ । यसरी पूजा गरे कृषि उत्पादन बढ्ने र अन्नको अभाव नहुने विश्वास छ । उधौली पर्व तथा ज्यापु दिवशका अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।