३ कार्तिक ०७४, काठमाडौं । यम पञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा गरी मनाइँदैछ ।
आजका दिन गोवर्द्धन पूजा गरी गाई-गोरुलाई मिठा मिठा परिकार खान दिएमा शुद्धता प्राप्त हुने धार्मिक विश्वास छ । साथै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मिठा मिठा खानेकुरा खान दिने प्रचलन छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा आज गाई पूजा गरी साउन शुक्ल पूणिर्माका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।