३० साउन ०७४, काठमाडौं । आज चिनियाँ उपप्रधानमन्त्री वाङ याङ बिशेष बिमानमार्फत् नेपाल भ्रमणमा काठमाडौं आउँदैछन् ।
याङ नेतृत्वको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल सोमबार साँझ ६ः१५ बजे काठमाडौं उत्रनेछ ।
उपप्रधानमन्त्री याङको प्रतिनिधिमण्डलमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ ।
दुईपक्षीय सहयोग अभिवृद्धि गर्न चिनियाँ उपप्रधानमन्त्री नेपाल आउन लागेका हुन् । उपप्रधानमन्त्री कृष्णबहादुर महराकाअनुसार पुनर्निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
नेपालबाट चीनतर्फ राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए ।
उपप्रधानमन्त्री याङको चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछ ।
साथै, सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग सिंहदरबारमा चिनियाँ उपप्रधानमन्त्री वाङले द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
चिनियाँ प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेतासँग पनि भेट गर्नेछन् ।
चीनको बेल्ट एन्ड रोड अवधारणाभित्र रही सहकार्य अघि बढाउन भएको नेपाल-चीन सहमतिको प्रभावकारी कार्यान्वयन गर्नेबारे छलफल हुनेछ । चीनसँग भएका पारवहनलगायत विभिन्न १० सम्झौता कार्यान्वयन सम्बन्धमा पनि छलफल हुनेछ ।