१ मंसिर ०७७, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको दोस्रो मुख्य पर्व आज ‘तिहार’ दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएर मनाइँदै छ ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिइसकेपछि ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका मिठामिठा खानेकुरा दिन्छन् ।
यस्तै दाजुभाइले दिदी–बहिनीहरूलाई दक्षिणा दिई सम्मान गर्ने प्रचलन छ ।
तिहार पर्व पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । साथै, पीङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै नाचगान गरेर रमाइलो गरी तिहार पर्व मनाइन्छ ।
तिहार पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई देखाउँछ भने मानव र पशुबीचको प्रगाढ सम्बन्धको समेत चित्र प्रस्तुत गर्दछ ।