आज देशभर ‘कृष्ण जन्माष्टमी पर्व’ मनाइँदै

२७ साउन ०७७, काठमाडौं । आज देशभर भगवान् श्रीकृष्णको पूजा गरेर ‘कृष्ण जन्माष्टमी पर्व’ मनाइँदै छ ।

द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रातमा श्रीकृष्णको जन्म भएको र सोही दिनको स्मरणमा ‘श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रहिआएको हो ।

आजको दिन विशेष गरी कृष्णभक्त महिलाहरू ब्रत बस्ने साथै श्रीकृष्णको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने गर्दछन् ।

यसवर्ष कोरोना महामारीका कारण देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन विगतमा झैं भएनन् भने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइनन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले मंगलबार एक सूचना जारी गरेर यसपटक कोभिड–१९ को कारण पाटनस्थित कृष्ण मन्दिरको दर्शनमा राष्ट्रपति भण्डारी सरिक नहुने जानकारी गराएका थिए ।

यसअघिसम्म श्रीकृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिर दर्शनमा राष्ट्रप्रमुख स्वयं सरिक हुँदै आइरहेको थियो ।