१ असोज ०७४, काठमाडौं । आज देशभर धुमधाम पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदै छ। आजको दिनलाई विश्वकर्मा पूजाका साथै वास्तु दिवसका रुपमा पनि मनाइने गरिएको छ।
आजको दिन फलाको पूजा गर्दा फलाम दिगो रुपमा सञ्चालन हुने र लाभ पनि मिल्ने जनविश्वासका साथ कालिगदले विश्वकर्मालाई विशेष महत्व दिने भएपनि फलामसँग सम्बन्धित सबैले विश्वकर्माको पूजाआजा गर्ने गर्दछन्।
आजको दिनलाई द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको र एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए।
विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ।
यही सम्झनामा नेपालमा आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गर्छन्। विश्वकर्मा बाबालाई विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ। आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन्।
शील्पका देउता भगवान विश्वकर्माको जनकपुरमा भव्यताका साथ पूजा गरी जनकपुरमा उद्योग, कलकारखाना, सुनचाँदी व्यवसायी र शिल्पकारहरुले विश्वकर्मा भगवानको माटोको प्रतिमानै स्थापना गरि पुजा गर्ने गर्दछन्। प्रतिवर्ष सुनचाँदी व्यवसायी संघको अगुवाईमै विश्वकर्मा पुजाको आयोजना गर्ने गरिन्छ।