७ साउन ०७४, काठमाडौं । आज विभिन्न कार्यक्रम गरी कम्युनिष्टहरुले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस मनाउँदै छन् ।
वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता तुलसीकुमारी र पिता भक्तलालको माहिला सुपुत्रको रूपमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा निधन भएको थियो ।
वि.सं. १९९७ मा दाजु गङ्गालाल श्रेष्ठलाई भद्रगोल जेलमा भेट्न जाँदा ‘प्रजातन्त्रका निम्ति मैले बालेको दियोलाई प्रज्ज्वलित पार्नू’ भनेपछि पुष्पलालले तत्कालीन जहानियाँ राणा शासनको विरुद्ध दाजु गङ्गालालले उठाएको कदमलाई गन्तव्यमा पु¥याउने अठोट लिएका थिए ।
तत्कालीन प्रजा परिषद्का नेताहरू टङ्कप्रसाद आचार्य, बीपी कोइरालासँगको सहकार्यमा पुष्पलालले राणा शासन विरुद्धको अभियान चलाएका थिए । सोही अभियानको लामो सङ्घर्षपछि मुलुकमा प्रजातन्त्र उदय भएको थियो ।
पुष्पलालले भारतको कलकत्तामा वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन गरेका थिए ।