२५ पुस ०७९, काठमाडौं । आज प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ ।
मंसिर ४ को निर्वाचनपछि आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । साथै, त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ । त्यसअनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले शुभकामनासहित आफ्नो धारणा राख्नेछन् ।













