५ भदौ ०७७, काठमाडौं । आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज । हिन्दु महिलाहरुले यस पर्वलाई उपवास बसेर विशेष पर्वका रुपमा यो पर्व मनाउँदै छन् ।
तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशका रहेका नेपाली दिदीबहिनीहरुमा पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले तीजका अवसरमा जारी गरेको सन्देशमा विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह समेत गरेकी छन् ।
सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको भन्दै उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्नु आवश्यक रहेको बताएकी छन् ।
सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन तीज पर्वले उत्प्रेरित गर्न सकोस् भन्ने राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
तीज पर्व मूलतः बिबाहित महिलाहरुले माइतीसँग भेटघाट गर्ने, मिष्ठान्न परिकार खाने, सुन्दर वस्त्र पहिरिएर सुखदुःख साटासाट गर्ने पर्व हो ।
तीजमा महिलाहरु भाद्रशक्ल द्वितीयादेखि पञ्चमी तिथिसम्म द्वितीयाको रातमा आ-आफ्नो रुचिअनुसार विशेष प्रकारका दरिलो अडिलो सात्विक खाना खाने, तृतीयामा निराहार बस्ने पार्वतीले महादेवलाई वर पाउन गरिएको अनुष्ठान र अडानलाई स्मरण गर्ने बिहान सबेरै नुहाएर पूजाआजा सकेर नाचगान गर्ने गर्दछन् ।
यस्तै चौथीमा गणेशको विशेष पूजा र पञ्चमीमा अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदगनी, वशिष्ठ ऋषिको पूजागरी ब्राह्मण र कन्यालाई दान गर्ने चलन छ भने पञ्चमीका दिन ३६५ गोटा दत्युनले दाँत सफा गर्ने, बालुवाको शिवलिंग बनाई टाउका माथि चाल्नो, चाल्नोमाथि कलश अथवा घडा राखेर घडाको पानीले नुहाएर कपालको पानी बालुवाको शिवलिंगमा चुहाउँदै आआफ्नो श्रद्धा भक्तिले उमामहेश्वरको पूजा गर्ने र कन्यालाई दक्षिणा दिने प्रचलन रहिआएको छ ।
यद्यपि, तीज पर्वलाई क्रान्तिकारी महिलाहरुले सामाजिक विभेद, महिला उत्पीडन साथै महिला हिंसाविरुद्ध सशक्तिकरण र जनजागरणका कार्यक्रम गरेर मनाउने गर्दछन् ।