सत्ता साझेदारकाे मन्त्रालय भागबन्डा टुंगियाे

११ साउन ०७४, काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि कांग्रेसले मन्त्री छान्न नसकेपछि रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुँदैछ ।

राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको अन्नुपूर्ण पोष्टमा खबर छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको उनीनिकट नेताले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री एवं पार्टी सभापति देउवालगायत नेताले मंगलबार बिहानैदेखि मन्त्रिपरिषद् विस्तारका लागि कसरत गरेका थिए ।

पार्टीको संस्थापन पक्षसँग ४० प्रतिशत भाग माग गरेको पौडेल समूहसँग सहमति जुटे पनि कुन-कुन मन्त्रालय दिने भन्ने विवाद सुल्झन नसकेको नेताहरू बताउँछन् । पौडेल समूहले बलबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित चार जनाको नाम पठाउन खोजेपछि केसीको नाममा समूहभित्रै विवाद भएको थियो । प्रधानमन्त्री देउवा पनि अनिच्छुक देखिनुका साथै भौतिक मन्त्रालय आफूनिकटलाई दिने अडान लिएपछि पौडेल समूहले केसीको नाम हटाएको थियो । सुरुमा पाँच मन्त्रालय दाबी गरे पनि देउवासँग पौडेलको भेटघाटपछि चारवटामा सहमति जुटेको थियो।

मन्त्रीका नाम दाहालको ‘खल्तीमै’

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित नौ मन्त्रालय पाएको माओवादी केन्द्रले आफ्ना भागमा परेका मन्त्रीहरूको नाम अझै अनुमोदन गराएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम टुंगो लगाएको भनिए पनि पार्टीमा औपचारिकता भने दिएका छैनन् । प्रधानमन्त्री देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि मन्त्रीहरूको नाम बिहान बस्ने पार्टी कार्यालयको बैठकबाट अनुमोदन गराउने तयारी माओवादीको छ । ‘अध्यक्षले शीर्ष केही नेतासँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम छनोट गरिसक्नुभएको छ’, नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसलाई पार्टी बैठकबाट औपचारिकता दिन मात्र बाँकी छ ।

‘माओवादीबाट यसअघि कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साह मन्त्री बनिसकेका छन् । अब ६ मन्त्री पठाउन बाँकी छ । स्रोतका अनुसार गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठलाई मन्त्री बनाउने तयारी छ । महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन । सीतालाई मन्त्री बनाउँदा प्रदेश नम्बर ४ को प्रतिनिधित्व छुट्ने देखिएपछि आशालाई मन्त्री बनाउनु पर्ने माग उठेको छ ।

मन्त्री बन्नेको सम्भावित सूची

पौडेल समूह
रामकृष्ण यादव
राजन केसी
सञ्जय गौतम
यज्ञबहादुर थापा
देउवा समूह
मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेत
खड्का समूह
मोहनबहादुर बस्नेत
सिटौला समूह
भीमसेनदास प्रधान

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ । महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये एक ।
लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहित

तपाइको मत