आज विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै

२७ असार ०७४, काठमाडौं । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कार्यकारी परिषदबाट अनुमोदन भएपछि प्रत्येक वर्षको जुलाई ११ मा यो दिवस मनाउने गरिएको छ । यसवर्ष ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको जनसंख्या तथा वातावरण मन्त्रालयले जनाएको छ ।

नेपालमा जनसंख्या व्यवस्थापन गरी व्यवस्थित परिवार र समृद्ध राष्ट्र बनाउनका लागि थुप्रै कामहरु भए पनि विभिन्न कारणले चुनौति भने भएको सरकारको ठहर छ । जनसंख्या तथा विकास सम्बन्धी २० वर्षे दीर्घकालीन योजना कार्यान्वयनमा रहेको मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले बताए ।

यसैबीच दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले परिवार व्यवस्थापनले समृद्ध राष्ट्र निर्माण हुने भएकाले परिवारको संस्कार, संस्कृति र सक्रियता आवश्यकता पर्ने उल्लेख गरेका छन् । सुनिश्चित र व्यवस्थित परिवारको माध्यमबाट राष्ट्र विकासमा सबैको समन्वयात्मक काम आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

तपाइको मत