८ माघ ०७४, काठमाडौं । आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइएको छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेमा बिहानैदेखि सरस्वती पूजा आराधना गरी श्रीपञ्चमी मनाइएको हो । आजकै दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन परम्परादेखि रहिआएको छ ।
यसदिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने तथा कलाकारहरुले आफ्ना वाद्ययन्त्र र कुचीको पूजा गर्ने चलन पनि छ भने विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्दा साइत हेर्नु नपर्ने धार्मिक विश्वास गरिन्छ ।
आजैदेखि सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।













