आज संविधान दोस्रो संशोधन विधेयकमाथि छलफल हुँदै

२७ जेठ ०७७, काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि छलफल हुँदैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि पेश गर्ने उल्लेख गरिएको छ ।

सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिन ल्याइएको संविधान संशोधन विधेयकमाथि आज छलफल हुने भएको हो ।

यसअघि संघीय संसद सचिवालयले सर्वसाधारणको जानकारीका लागि जेठ १९ गते नेपाल राजपत्रमा विधेयक प्रकाशित गरेको थियो ।

नियमावलीमा संविधान संशोधनसँग सम्बन्धित विधेयक सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरिएको ७ दिनपछि संसदमा प्रस्तुत गर्न योग्य हुने प्रावधान उल्लेख छ ।