आज सर्वोच्चमा नौ महिनाअघि नियुक्त ८० न्यायाधीशको सुनुवाइ हुँदै

२६ असोज ०७४, काठमाडौं । तत्कालीन न्याय परिषद्का बहुमत सदस्यले दुई सदस्यलाई छक्याएर नियुक्त गरिएको भन्दै परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

तत्कालीन न्याय परिषद्का बहुमत सदस्यले नौ महिनाअघि उच्च अदालतका ८० न्यायाधीश नियुक्ति गरेका थिए । तर, प्रक्रियाका सम्बन्धमा त्रूटी भएको भन्दै परेको मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुन लागेको हो ।

नियुक्ति प्रक्रियामा भएको त्रुटि सम्बन्धमा सर्वाेच्च अदालतले परीक्षण गरिरहेको छ । नौ महिनाअघि न्याय परिषद्का तत्कालीन सदस्यहरुले प्रक्रिया नपु¥याई नियुक्त गरेको र वर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले समेत सार्वजनिक रूपमै ‘मध्यरातमा न्यायाधीश नियुक्ति उपयुक्त नहुने’ भनी टिप्पणी गर्दै आएका छन् ।

सो नियुक्ति तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा भएको थियो ।

अधिवक्ता तोयानाथ ढुंगाना र सरकारी वकिलहरूका तर्फबाट नायब महान्याधिवक्ता दुर्गाबन्धु पोखरेलद्वारा दायर दुवै मुद्दा सर्वाेच्च प्रशासनबाट बिहीबारको लागि साप्ताहिक पेसी सूचीमा तोकिएको छ ।

तत्कालीन न्याय परिषद् सदस्यद्वय वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाले बैठक बहिष्कार गरी बाहिरिएपछि गत पुस २८ को मध्यरातमा सो नियुक्ति भएको थियो ।

तपाइको मत