रामबाबु मेहता/२५ माघ, बारा । हत्या एवं आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल र भारतका प्रहरीहरुको खोजीमा रहेका समसुल होदासहित चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
बारा प्रशुरामपुर वडा नं ८ घर भई हाल कलैया–८ बस्ने समसुल होदा र उनको समूहले दुबईमा बसेर नेपाली र भारतीय अपराधीहरुको गिरोह चलाउँदै आतंकवादी गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको आरोप छ ।
दुबई प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी विशेष ब्यूरो र मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष अनुसन्धानको टोलीले दुवईबाट फरार भई काठमाडौंको महराजगञ्ज एरियामा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा माघ २३ गते मुख्य योजनाकार तथा आदेश कर्ता ४८ वर्षीय समसुल होदालाई पक्राउ गरी बारा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा सङ्लग्न रहेको आरोपमा महागढीमाई १ सेमरा तेगछिया गाउँका २७ वर्षीय गिरी बाबा भनिने बृजकिशोर गिरीलाई पुष २४ गते पर्सा जिल्लाको बिजबनिया वडा नं. ७ स्थित अजय गिरीको घरबाट पक्राउ गर्न खोज्दा गिरी भाग्न लागेपछि उनको घुँडामा गोली हानी घाइते पारेर पक्राउ गरिएको थियो ।
यसैगरी भोजपुरी फिल्ममा काम गर्दै आएका कलैया १० निवासी ३५ वर्षीय मोजाहिर मियाँ र हाल टाटा सुमो गाडी भाडामा चलाउने कलैया ४ निवासी २४ वर्षीय आशिष सिंह र अर्का उच्च शिक्षा हासिल गर्दै गरेका कलैया ४ का उमेश कुमार कुर्मीलाई पक्राउ गरिसकेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका समूहले गत मंसिर ५ मा भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेसमा भारतको उत्तरप्रदेश प्रान्तको कानपुर क्षेत्रको पुखराया रेल स्टेसन नजिक रेल दुर्घटना गराउँदा १ सय ५० जना यात्रुको ज्यान गएको थियो ।
भारतीय सुरक्षा एजेन्सीले उक्त घटनामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको दाबी गर्दै आएको छ । चलिरहेको एक्सप्रेस रेल लिकबाट उछिट्टिएर दुर्घटना भएजस्तो ठानिएकोमा घटना योजनाबद्ध गराइएको खुलेपछि भारतीय प्रहरीले यसमा संलग्नको समूहको खोजी कार्य थालेको थियो ।