रामबाबु मेहता
२५ माघ, बारा ।
हत्या एवं आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल र भारतका प्रहरीहरुको खोजीमा रहेका समसुल होदासहित चार जनालाई पक्राउ गरी बारा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
बारा प्रशुरामपुर वाड नं ८ घर भई हाल कलैया–८ का होदाले दुबईमा बसेर नेपाली र भारतीय अपराधीहरुको गिरोह चलाउँदै आएका थिए । उनको गिरोह माथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्दै आएको आरोप रहेको छ ।
दुबई प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी विशेष ब्यूरो र मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष अनुसन्धानको टोलीले दुवईबाट फरार भई काठमाडौंको महराजगंज एरियामा लुकिछिपी बस्दै आएको सुचनाका आधारमा माघ २३ गते मुख्य योजनाकार तथा आदेश कर्ता ४८ वर्षीय समसुल होदालाई पक्राउ गरी बारा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको महा गढीमाई १ सेमरा तेगछिया गाउँका २७ वर्षीय गिरी बाबा भनिने बृजकिशोर गिरीलाई पुष २४ गते पर्सा जिल्लाको बिजबनिया वार्ड नं. ७ स्थित अजय गिरीको घरबाट पक्राउ गर्न खोज्दा गिरी भाग्न लागेपछि उनको घुडामा गोली हानी घाइते अवस्थामा पक्राउ गरी हाल काठमाडौं शिक्षण असपतालमा उपचार भइरहेको छ । सोही समुहसँग आवद्ध रहेका तथा भोजपुरी फिल्ममा काम गर्दै आएका कलैया १० निवासी ३५ वर्षीय मोजाहिर मियाँ यसैगरी बिदेश गई फर्केका र हाल टाटा सुमो गाडी भाडामा चलाउने कलैया ४ निवासी २४ वर्षीय आशिष सिंह र अर्का उच्च शिक्षा हासिल गर्दै गरेका कलैया ४ का उमेश कुमार कुर्मीलाई पक्राउ गरी कानुनको दायरामा ल्याइसकेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेको समुहले गत मंसिर ५ मा भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेसमा भारतको उत्तरप्रदेश प्रान्तको कानपुर क्षेत्रको पुखराया रेल स्टेसन नजिक रेल दुर्घटना हुँदा १ सय ५० जना यात्रुको ज्यान गएको थियो ।
भारतीय सुरक्षा एजेन्सीले उक्त घटनामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको दाबी गर्दै आएको छ । चलिरहेको एक्सप्रेस रेल लिकबाट उछिट्टिएर दुर्घटना भएजस्तो ठानिएकोमा घटना योजनाबद्ध गराइएको खुलेपछि भारतीय प्रहरीले यसमा संलग्नको समुहको खोजी कार्य थालेको थियो ।
यसैबीच, बारामा भएको एउटा हत्या घटनाको अनुसन्धानको फेरो कानपुर रेलकाण्डसँग जोडिन गएपछि प्रहरीले यसमा विशेष अनुसन्धान अघि बढाएको थियो ।
गएको पुस १३ मा बाराको करैया जंगलमा सहजनाथ महादेव मन्दिरनजिक दुई युवकको शव फेला प¥यो जंगलमा फेला परेको शव भारत, पूर्वीचम्पारण आदापुरनजिकको पोखरिया गाउँ घर भएका दीपक राम र अरुण रामको रहेको अनुसन्धानबाट खुल्यो । प्रहरीले अनुसन्धानको क्रममा मुजाहिर अन्सारी नामका व्यक्तिलाई नियन्त्रणमा लिएपछि खुल्दै गएको घटना विवरणले प्रहरी छक्कै प¥यो ।
उक्त जंगलमा मारिएका ती दुई व्यक्तिले नै ‘बाबा’ भनिने बृजकिशोर गिरीमार्फत भारतीय रुपैयाँ ३ लाखका दरले ६ लाख पेस्की लिएर रक्सोल दरभंगा रेललाइनमा विस्फोट गराउने जिम्मा लिएको अनुसन्धानमा खुल्यो । उक्त योजना सफल हुन नसकेपछि सर्तअनुसार दीपक र अरुणले पैसा फर्काएनन् । त्यो पैसा दुबईबाट मुख्य योजनाकार समसुलले पठाइदिएको पनि खुल्यो । पछि, उक्त योजना र त्यससँग जोडिएका व्यक्तिको जानकारी दीपक र अरुणबाट फुत्किन सक्ने देखेर उनीहरुको हत्या गरिएको रहस्य प्रहरीले पत्ता लगायो ।
हत्या अनुसन्धानका दौरान पक्राउ परेकाबाट यस्तो सूचना मिलेपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो । गिरी पर्सामा बसेको थाहा पाएपछि बारा प्रहरी यहाँ आउनुभन्दा मध्यक्षेत्रीय प्रहरी कार्यालयको एउटा विशेष टोली उनको खोजीमा परिचालन गरियो ।
सीमावर्ती गाउँ पर्साको बिजबनियाबाट पुस २५ प्रहरीले मुटभेडको स्थितिमा गिरीलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको थियो । गिरी समातिएपछि समग्र सञ्जालबारे प्रहरीलाई थप जानकारी आएको थियो । कानपुर घटनामा पनि यसै गिरोहको हात देखिएपछि मामिला थप गम्भीर देखिएको थियो । यसैबीच, भारतीय सञ्चार माध्यमले यसलाई प्राथमिकता साथ खबर बनाए ।
त्यतै नेपाल प्रहरीको परिचालित टोलीले मुख्य योजनाकार तथा आदेशकर्ता होदालाई दुबईबाट भाग्ने वातावरण सिर्जना गरायो । उनीहरुले सहजै मोटो पैसा कमाउने लालचमा होदाका लागि परिचालित भएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा करिब १० वर्ष मलेसिया बसेर फर्केपछि होदा केही दिन राजनीतिमा बारामै सक्रिय भए । बिभिन्न अपराधिक पृष्ठभुमि र अन्य अपराधिक कृयाकलापका कारण आर्थिक अवस्था कमजोर भई डेढ वर्ष पहिला पर्यटक भिषमा दुबइ गई एक जना पाकिस्तानी एजेन्ट सफिकसँग सम्पर्क गरी अन्तर्राष्ट्रिय आतंकवादी समूह समेतसँग सहकार्य गरी उनले पछिल्ला गतिविधि सञ्चालन गरेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएका छन् ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको तथा संलग्न रहेका अरु अभियुक्तहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।