आधारहीन सामग्री प्रसारण गर्ने मिडियाविरुद्ध कदम चाल्न भारतलाई नेपाल सरकारको आग्रह

२९ असार ०७७, काठमाडौं । नेपालले दिल्लीस्थित नेपाली दुतावासमार्फत् केही भारतीय सञ्चार माध्यमले नेपाल र नेपालीका बारेमा देशको नेतृत्वको घोषणाविपरीत अपमानजनक सामग्री प्रसारण तथा प्रकाशन गरेको भन्दै भारतको ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयलाई दूतावासमार्फत् ध्यानाकर्षण पत्र पठाई आगामी दिनमा नेपाल र नेपालीविरुद्ध प्रेस स्वतन्त्रताका नाममा अनैतिक सामग्री प्रसारण र प्रकाशन नगर्न गम्भीर ध्यानाकर्षण गराएको हो ।

‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दछौं तर स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक सीमा नाघ्नु हुँदैन् ।

नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाल, नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको उल्लेख गर्दै ध्यानाकार्षण पत्रमा देशको नेतृत्व (भारतीय प्रधानमन्त्री)को घोषणाविपरीत यो झुठो, मनगढन्ते र अपमानजनक सामग्री प्रसारण र प्रकाशन भएको उल्लेख गरिएको छ ।

यस्तै नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास रहेको भन्दै जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशील हुन समेत भनिएको छ ।

नेपाल सरकारले यस्ता घृणात्मक र अपमानजनक सञ्चार सामग्रीले मैत्रीपूर्ण छिमेकी सम्बन्धमा असर पर्ने भन्दै पत्रमा भारतीय सञ्चार माध्यमद्वारा नेपालका बारेमा प्रसारित अश्लील सामग्रीविरुद्ध तत्काल कदम चाल्न र ती सामग्रीले सञ्चार मिडियामा स्थान नपाउने विषय सुनिश्चित गर्न समेत भारत सरकारलाई अनुरोध गरेको छ ।