आन्दोलित चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेरे, आजको वार्ता पनि विफल

९ असोज ०७४, काठमाडौं । सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले  सोमबार बिहानैदेखि स्वास्थ्य मन्त्रालय  घेरेका छन् ।

सरकारले नेपाल चिकित्सक संघको मागलाई हेल्चक्र्याइ गरेको भन्दै  चिकित्सकहरुले मन्त्रालय घेरेका हुन् । राजधानी बाहिरका जिल्लाका चिकित्सकहरुले भने सिडियो कार्यालय घेरेर देशैभरी बिरोध जनाइरहेको संघका उपाध्यक्ष डा. ढुन्डीराज पौडेलले बताए ।

चिकित्सकहरुको सुरक्षाका लागि  सरकारले  तत्कालै स्पष्ट कानुन बनाउनुपर्ने, अस्पतालभित्र उनीहरुमाथि हुने आक्रमण गर्नेलाई कानुनी तथा जेल सजाय हुनुपर्ने उनीहरुको माग राखेका थिए । उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सक स्वयंले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय  भने सरकारले  फिर्ता लिएको छ ।

अर्कातिर आन्दोलिनका कारण ओपीडी बन्द भएसँगै अस्पताललमा बिरामी अलपत्र परिरहेका छन् । तत्काल ज्यान जान सक्ने खालका बिरामीको मात्र अस्पतालको इमर्जेन्सी कक्षबाट उपचार गरिरहेका चिकित्सकहरुले बताए ।

आन्दोलनको  सम्बन्धमा सोमबार दिउँसो चिकित्सक संघका अध्यक्ष लगायतका पदाधिकारी र स्वास्थ्य सचिव लगायतका पदाधिकारीबीच लगभग दुई घण्टा वार्ता भए पनि चिकित्सकहरुको मागमा मन्त्रालयका अधिकारीहरु सहमत हुन नसक्दा आजको वार्ता विफल भएसँगै गत शुक्रबारदेखि जारी चिकित्सकको आन्दोलन जारी नै रहने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले  बताए ।

डा. श्रेष्ठले ‘जानाजान कोही डाक्टरले बिरामी मार्दैन, छिटफुट घटना हुँदा प्रमाणबिनै डाक्टरमाथि हातपात र अस्पताल तोडफोड गर्नेलाई पनि सजाय हुनुपर्छ,’ भन्दै ‘चिकित्सक र उपभोक्ता दुवैको हित हुने गरी कानुन निर्माण गर्नुपर्छ, एक पक्षलाई हुने गरी मात्रै होइन । यसै विषयमा कुरा नमिलेको हो,’ भने ।

सबै माग पुरा नभएसम्म निर्णय नसच्याएसम्म अनिश्चितकालीन आन्दोलन जारी राख्ने उनीहरुको अडान छ ।

तपाइको मत