२४ साउन ०७७, सप्तरी । नेपाल फोटो पत्रकार महासंघ सप्तरी शाखाले संचारमाध्यम र संचारकर्मीहरुलाई बदनाम गर्न खोजेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत राजविराज नगरपालिका वडा नं. ३ निवासी मो.मुस्तकिमले सामाजिक संजालमार्फत् संचारमाध्यम र संचारकर्मीहरुलाई बदनाम गर्न खोजेको भन्दै महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
संघका सचिव विद्यानन्द रामले शनिबार विज्ञप्ति जारी गरेर उनको अभद्र, निकृष्ट र गैरजिम्मेवार अभिव्यक्तिको घोरनिन्दा र भत्र्सना गरेका छन् ।
आइसोलेशनमा सुरक्षा र निगरानीका लागि जडान गरिएको सिसी क्यामरा मध्ये ३ वटा क्यामरा केही संक्रमितले फुटाई दिएको र तोडफोड भएका सिसी क्यामरा मर्मतका लागि झिकाई नयाँ जडान गरिएको आइसोलेसन व्यवस्थापन पक्षबाट स्पष्ट पारिएको सन्दर्भमा नयाँ जडान गरिएका सिसी क्यामराको फोटो खिचेर, अभद्र र अश्लिल शब्दहरु लेखेर सामाजिक सञ्जाल गरेर संचारमाध्यम र संचारकर्मीहरुलाई बदनाम गर्न खोजेको महासंघले बताएको छ ।
राजविराजबाट संचालित अनलाइन र पत्रपत्रिकाले अस्पताल प्रशासनले दिएको जानकारीका आधारमा आइसोलेशनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमाथि समेत केही संक्रमितले अभद्र व्यवहार गरेको विषयमा समाचार सम्प्रेषण भएपछि अश्लिल शब्दहरु प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट भएका थिए ।
उच्छृखल संक्रमित व्यक्तिद्वारा निरन्तर भइरहेको अराजकता पूर्ण क्रियाकलाप रोक्न र संचारकर्मीहरुप्रति निकृष्ट शैलीमा आपत्तिजनक शब्दको प्रयोग गर्नेहरुमाथि कडा कारवाही गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।