आफूसँगै देउवालाई पनि जेल हाल्ने फैसला गरेर देखाउन न्यायालयलाई प्रचण्डको चुनौति

३१ बैशाख, काठमाडौं ।

5 Maoists1

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्वकालीन मुद्दामा जनयुद्ध सुरु गर्दा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री रहेको भन्दै आफूसँगै देउवालाई पनि जेल हाल्ने फैसला गरेर देखाउन न्यायालयलाई चुनौति दिएका छन् ।

5 maoist

माओवादीका पाँच घटकको ‘पाँच दलीय संयुक्त समिति’ले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘बृहत शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दश वर्षे जनयुद्धमा आफू सुप्रिम कमाण्डर समेत रहेकाले तत्कालीन विद्रोही पक्षबाट भएका सबै घटनाको जिम्मा आफूले लिने बताउँदै राज्य पक्षबाट भएका घटनाको जिम्मा पनि तत्कालीन सरकारले लिनुपर्ने बताएका थिए ।

5 Maoists
‘द्वन्द्वकालमा भएका घटनाहरुमा प्रत्यक्षरुपमा म जिम्मेवार छु । त्यसकारण सरकारलाई पनि, अदालतलाई पनि, सबै राजनीतिक दलहरुलाई पनि र देशभरीका जनतालाई के भन्न चाहान्छु भने यदि विस्तृत शान्ति सम्झौता विपरीत युद्धकालीन मुद्दा उठाइन्छ भने र अदालतको नियमित प्रक्रियामा लगिन्छ भने सबैभन्दा पहिला मलाई जेल हाल्नु प¥यो ।’ प्रचण्डले भने– ‘शेरबहादुर देउवा त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसकारण अदालतले साँच्चिकै आँट गर्ने हो भने शेरबहादुरलाई र प्रचण्डलाई पहिला थुन्नुप¥यो ।’

कार्यक्रमलाई सम्बोधन गर्दैप्रचण्डले विस्तृत शान्ति सम्झौता विपरीत युद्धकालीन मुद्दामा समान्य कार्यकर्तालाई नसताउन चेतावनी दिएका थिए ।

नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, स्वतन्त्र बसेकी माओवादी नेतृ जयपुरी घर्ती, नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुक्ति प्रधान साथै मानव अधिकारवादी चरण प्रसाईं, सुन्दरमणि दीक्षित, मल्लके सुन्दर, वीरेन्द्र मिश्र, अधिवक्ता एकराज भण्डारी, पूर्वराजदूत विजयकान्त कर्ण र पत्रकार महासंघका कार्यबाहक अध्यक्ष खिलबहादुर भण्डारीले सम्बोधन गरेका थिए । अधिवक्ता रमणकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मणि थापाले गरेका थिए ।

तपाइको मत