आयुर्वेद र योग असाधारण औषधि रहेको प्रधानमन्त्री ओलीको भनाई

७ असार ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेद र योग असाधारण औषधि भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले आयुर्वेद र योग असाधारण औषधि भएको र यसलाई अगाडि बढाउनु पर्ने बताएका हुन् ।

राष्ट्रिय सभामा आफूले बोलेको कुरालाई कतिपयले मजाक गरेकोप्रति असन्तुष्टिसहित प्रधानमन्त्रीले भने, “आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।”

“मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ,” उनले भने, “तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊँ ।”

प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल योगको जननी भएको उल्लेख गर्दै यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढेको चर्चा समेत गरे ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योगाभ्यास र अध्ययनको क्रमको थालनी भएको बताएका थिए । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योगाभ्यासक्रमको प्रकाशनले योगलाई जीवनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताए ।

यसैगरी कार्यक्रममा योगगुरु डा.हरिप्रसाद पोखरेल, माक्र्सवादी चिन्तक एवम् साधक समेत रहेका सोनाम साथी, नायक निखिल उप्रेती लगायतले योगको व्यापकताका बारेमा मत अभिव्यक्त गरेका थिए ।