१४ भदौ, काठमाडौं । महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको छलफलमा द्वन्द्वकालीन घटनाको यथार्थ पत्ता लगाउन आयोगलाई स्वतन्त्र रूपका काम गर्न दिनुपर्ने बताएका छन् ।
आयोग निर्माणका क्रममा भ्रम सिर्जना भएकाले द्वन्द्वपीडितका न्यायका लागि आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ भन्दै श्रेष्ठले आयोग पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न गठन भएको प्रष्ट गरे ।
शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले बेपत्ता परिवारको पीडा आफूले महसुस गरेको बताइन् । उनले पीडित परिवारको व्यथा आफूले पनि भोगेको छु भन्दै उनले आयोगबाट निर्धक्क रूपमा काम अघि बढाउन र पीडितलाई क्षतिपूर्ति दिलाउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ । दिवस मनाउने क्रम सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरु भएको हो ।













