४ बैशाख ०७४, काठमाडौं । अर्थ मन्त्रालयले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा क्षमता अभिवृद्धिका लागि भन्दै आयोजना गरेको एक तालिम कार्यक्रममा आर्थिक पत्रकारको नाममा लाखाैं स्वाहा भएको खबर छ ।
बैशाख १ गते अर्थ मन्त्रालयले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि भन्दै धुलिखेलमा आयोजना गरेको कार्यक्रममा विषयसँग असम्बन्धित व्यक्तिलाई प्रशिक्षक र आर्थिक पत्रकारिताको कखरा नै नबुझेका व्यक्तिलाई सहभागी बनाइएको गुनासो सेजनका पत्रकारहरुले गरेका छन् ।
आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिमका लागि भन्दै रकम निकास गरेर अर्थ मन्त्रीका प्रेस विज्ञ त्रिभुवन पौडेलले तालिमको आयोजना गरेका भए पनि तालिममा आर्थिक पत्रकारितामा विज्ञता नै हासिल नगरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँले, सुरेश आचार्यलगायतलाई मुख्य प्रशिक्षक बनाइएको थियो ।
यद्यपि, आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि मन्त्रालय तहबाटै यस्तो तालिमको आयोजना गरिनु स्वागतयोग्य कुरा भए पनि तालिमको नाम भजाएर तालिमभन्दा पनि खानपान र रामरमिता मै दुई दिन बितेको थियो ।
‘आर्थिक तालिम भनिएको छ, न तालिम दिने आर्थिक पत्रकारिताका विज्ञ छन् न त सहभागी नै’ । कार्यक्रममा सहभागी भएर फर्किएका एक सहभागी पत्रकारले भने, ‘कार्यक्रममा प्रशिक्षक, सहभागी बनेर जानेले के गरे कुन्नि थाहा भएन तर मलाई चाहिँ निकै गिल्टी फिल भएको छ ।’
स्रोतका अनुसार, तालिमका नाममा ६० भन्दा बढीलाई आमन्त्रण गरेर १ दिन र १ रातको रमझमसहितको व्यवस्था गरिएको थियो । तालिमको नाममा अर्थ मन्त्रालयबाट निकासा गरिएको ७ लाख पूरै स्वाहाः पारिएको स्रोतले बतायो ।
अझै रोचक त के छ भने आर्थिक पत्रकारितासँग गोरु बेचेको साइनो समेत नभएकालाई सहभागी गराइएको कार्यक्रममा माओवादी केन्द्र निकट पत्रकार र यसका नेतालाई बोलाइएको थियो ।
स्रोतका अनुसार, नाम मात्रले आर्थिक पत्रकारिता तालिम कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, प्रेस सेन्टर ३ नं. प्रदेशका संयोजक सुनील खड्का, नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपाने लगायत दर्जनौ सहभागी थिए ।
अर्थ मन्त्रालयको व्यानरमा गरिएको कार्यक्रम भए पनि मन्त्रालयसँग सम्बन्धित कुनै पनि व्यक्तिको कार्यक्रममा सहभागिता थिएन । आजको साँघु साप्ताहिकमा समाचार छापिएको छ ।