१४ असार, काठमाडौं । फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै आइसल्याण्ड युरोकप प्रतियोगिताको क्वटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो पटक खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्डले अविश्वसनीय नतिजा निकाल्ने क्रममा इंग्ल्याण्डलाई २-१ ले हराएको हो ।
खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए ।
तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।
दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । क्वाटरफाइनलमा प्रवेश गरेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार मात्रै छ ।