२४ माघ ०७४, काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्दर माझी र इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गरेको छ ।
प्रहरी मुख्यालयले पुस १६ गतेको बलात्कार घटनाका पीडकलाई मिलापत्र गराएर छाडेको भन्दै छानबिनका लागि एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बनको माग गर्दै प्रहरी मुख्यालयले मंगलबार गृहमन्त्रालयमा पत्र पठाएको थियो ।
घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्नै र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न आग्रह गरेको थियो ।
१० कक्षामा पढ्ने ईटहरी २० की १४ वर्षीय बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको हो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ ।
बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए। तर, मुद्दा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो ।
इटहरी – २० का वडाध्यक्षसमेतको रोहबरमा मिलापत्र भएको बताइएको छ । यता वडाध्यक्ष मणिराम श्रेष्ठले भने आफूलाई उक्त घटना बलात्कारको भएको भन्ने थाहा नभएको बताएका छन् ।