२३ भदौ ०७७, काठमाडौं । मार्क्सवादी चिन्तक स्वनाम साथीले इनारको पानी पिउनेले इनार खन्नेलाई बिर्सन नहुने बताएका छन् ।
मंगलबार हाकाहाकीसँग संक्षिप्त कुराकानीका क्रममा मार्क्सवादी चिन्तक साथीले अक्टूबर १ लाई नेपालका कम्युनिष्टहरूले उत्सवका रुपमा मनाउनु पर्ने भन्दै यस्तो बताएका हुन् ।
चीनको स्वतन्त्रता, जनताको मुक्ति, मुलुकको समृद्धि र जनताको सुखका लागि क्रान्तिकारी पूर्खा र शहीदहरूले गरेका अमूल्य योगदानको सम्झानामा जनगणतन्त्र चीनले अक्टूबर १ लाई आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ । यस दिनलाई नेपालका कम्युनिष्टहरुले पनि विभिन्नका कार्यक्रम गरेर पर्वकै मनाउनु पर्नेमा जोड दिँदै उनले भने, “इनारको पानी पिउनेले इनार खन्ने श्रमिकलाई बिर्सन हुँदैन् ।”
नेपालका कम्युनिष्टहरुको जीवन, व्यवहार र कार्यशैली कम्युनिष्ट जस्तो नरहेको भन्दै उनले सबैलाई सच्चा कम्युनिष्ट बन्न सुझाएका छन् ।
समाजवादी बाटोमा अघि बढ्न कम्युनिष्ट पार्टीको आधारभूत विचारधारा, आधारभूत बाटो, आधारभूत रणनीतिको पालना गर्नुपर्नेमा जोड दिँदै साथीले यसो भएमात्रै नयाँ ऐतिहासिक उपलब्धि हासिल हुनसक्ने बताए ।
मार्क्सवादी चिन्तक स्वनाम साथीले अक्टूबर १ का दिन प्रविधिको माध्यमबाटै कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
यस्तै कोभिड–१९ का सन्दर्भमा दीर्घ रोगी, मृगौला पीडित, मधुमेहका बिरामी, गर्भवती साथै सुत्केरी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र बृद्धहरु बढी प्रभावित भएको देखिएकाले सबैले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्नु पर्नेमा उनले जोड दिए ।
यस्तै बन्दाबन्दी र निषेधाज्ञा अवधिमा सरकारले जनतालाई आवश्यक राहत उपलब्ध गराउन नसकेको भन्दै उनले यस अवधिमा ३००० भन्दाबढी नागरिकको भोकबाट मृत्यु भएकाले जनताले सरकारको अनुभूत गर्न नसकेको बताए ।
देश भोकमरीतर्फ जानसक्ने भन्दै साथीले अब कृषिमा आत्मनिर्भर बन्न खाद्यान्न उत्पादन र भण्डारण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
यस्तै दशैं, तिहार लगायतका पर्वहरु नजिकिरहेको अवस्थामा सरकारले गुजारा टार्न धौधौ परेका सम्पूर्ण नागरिकलाई कोरोनासँगसँगै दैनन्दिनको भोकबाट जोगाउन राहतको विशेष व्यवस्था गर्नु पर्ने बताए ।