१९ भदौ ०७९, काठमाडौं । नियमविपरीत सञ्चालित पसल तथा टहरा हटाउने अभियानमा रहेको काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असन क्षेत्रमा अवैध रुपमा सञ्चालनमा रहेका पसल हटाउन २४ घण्टाको समय दिएको छ ।
मापदण्डविपरीत राखिएका डिजिटल होर्डिङ बोर्ड समेत हटाइरहेको काठमाडौं महानगरले धार्मिक सम्पदा तथा मन्दिर क्षेत्रमा रहेका अवैध पसल हटाउन अल्टिमेटम दिएको हो ।
काठमाडौं महानगरपालिका–२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरपर साथै श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल क्षेत्रका पसल हटाउन निर्देशन दिएको हो ।
वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिइएको छ ।
वडाध्यक्ष शाक्यले निर्धारित समयमा व्यवसायीले हटाउन नमाने महानगरीय प्रहरी लगाएर आफैं हटाउने पनि बताए ।
उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्नेगरी कुनैपनि व्यवसाय गर्न नदिने स्पष्ट पारे ।













