१६ साउन ०७४, काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ ।
तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका हुन् । यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रतिनिधि र तिब्बत कम्युनिस्ट पार्टीका उच्च अधिकारीले आफूलाई वर्तमान प्रधानमन्त्रीसरहको सम्मान गर्दै नेपालको आर्थिक विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता पाएको ओलीले बैठकमा जानकारी गराए ।
साउन २२ गते ल्हासा प्रस्थान गरेका ओलीलाई त्यहाँको सरकारले राजकीय सम्मान दिँदै भोलिपल्ट सिगात्से लगेको थियो । त्यस अवसरमा ओलीको सिगात्से, केरुङ, रसुवागढी, काठमाडौं हुँदै लुम्बिनीसम्म रेल्वे जोड्ने योजना सफल गराउने दृढतालाई अझै बल पुर्याउने गरी वार्ता भएको जानकारी दिए ।
ओलीले आफू प्रधानमन्त्री हुँदा चिनियाँ पक्षसँग भएका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउने कार्य अघि नबढेकोमा बैठकमा गुनासो समेत गरेको थियो ।
चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन् । ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए ।
चिनियाँ पक्षले भूकम्पले चर्काएका तातोपानीको पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको लागि पहल गर्ने जानकारी दिएको ओलीले बताए ।
ओलीले ल्हासाबाट काठमाडौं फर्किने बेला तातोपानी-कोदारी नाकाको समस्या राख्दै त्यसलाई चाँडोभन्दा चाँडो खोल्न चिनियाँ पक्षसँग प्रस्ताव गरेका थिए ।