११ असोज ०७४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उत्तर कोरियाविरुद्ध अमेरिका र संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दी अमानवीय भएको भन्दै यसका विरुद्ध विश्वभरिका न्यायप्रेमी जनताले आवाज उठाउनु पर्ने बताएका छन् ।
नेकपाको अन्तर्राष्ट्रिय व्युरोद्वारा मंगलबार राजधानीमा आयोजित ‘जनवादी गणतन्त्र कोरिया विरुद्ध अमानवीय नाकाबन्दी र विश्व शान्ति विरुद्ध हमला’ विषयक कार्यक्रममा नेता बास्तोलाले सो कुरा बताएका हुन् ।
नेकपाको अन्तर्राष्ट्रिय व्युरो इन्चार्ज समेत रहेका बास्तोलाले उत्तर कोरियाले आफ्नो आत्मरक्षाका लागि निर्माण गरिरहेको आणविक हतियार न्यायपूर्ण र जायज भएको टिप्पणी गरे ।
‘आत्मस्वाभिमान र राष्ट्रिय स्वाधिनताका लागि उत्तर कोरियाले आणविक बम निर्माण गर्न पाउनु जायज नै हुन्छ । हाम्रो पार्टी उत्तर कोरियालाई साथ दिन्छ,’ उनले भने, ‘अमेरिकाले गरेको अन्यायपूर्ण युद्धका विरुद्ध हामीले उत्तर कोरियाले गरेको न्यायपूर्ण युद्धलाई नैतिक समर्थन गर्छौ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुरेश आलेमगरले अमेरिकाले चालेको अहिलेको कदम अन्यायपूर्ण भएको भन्दै उत्तर कोरियालाई सबैले साथ दिनु पर्ने बताए ।
यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नो जीवन रक्षाका लागि चालेको कदम न्यायपूर्ण भएको भन्दै उत्तर कोरियाको पक्षमा ऐक्यबद्धता मञ्च बनाउनु पर्ने बताए ।
कार्यक्रममा वाम बुद्धिजीवी डा. सुरेन्द्र केसी, क्रान्तिकारी माओवादी नेता हस्तबहादुर केसी, ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल लगायत नेताहरूउत्तर कोरियाले चालेको कदमलाई समर्थन गर्नुपर्ने बताएका थिए ।