२७ माघ ०७७, काठमाडौं । सरकारले छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरेको बताएको छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरिएको बताएका हुन् ।
प्रवक्ता गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका अनलाइन, फेसबुक, युट्युबहरुले उत्तेजक अभिव्यक्ति दिने गरेकाले त्यस्ता प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने संकेत गरेका छन् ।
नेपाली समाजलाई अराजकता, विकृति विसङ्गतितर्फ धकेल्न स्वतन्त्रताका आडमा छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अङ्ग र व्यक्तिमाथि गलत अभिव्यक्ति आइरहेको भन्दै मन्त्री गुरुङले त्यसता गतिविधि नगर्न साथै आमसञ्चारकर्मीलाई अराजक, गैरजिम्मेवार नबन्न सचेत गराउँदै त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन निर्देशिका जारी गर्न लागिएको बताए ।