उद्योगमन्त्रीको उद्योगमा कार्यरत मजदुर नै सामाजिक सुरक्षामा सूचीकृत छैनन् – धर्मलाल माझी

२६ असार ०७७, मोरङ । कोरोना भाइरसका कारण जारी सरकारी बन्दाबन्दीको बिच अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) मोरङले विभिन्न औधोगिक प्रतिष्ठानमा कार्यरत मजदुरहरुको अवस्था अनुगमन गरिहेको छ ।

अनुगमनकाक्रममा अन्टुफ मोरङले उद्योगपति तथा नेपाल सरकारको उद्योगमन्त्री मोती दुगडको स्वामित्वमा रहेको एसिया के.मी. प्रा. लि.ले ऐन बमोजिम मजदुरलाई सुविधा नदिएको जनाएको छ ।

एसिया प्रा.लि.मा कार्यरत ३३ जना स्थायी कामदारलाई लकडाउन अवधिको पारिश्रमिक दिएको तर १६ जना ज्यालादारी श्रमिकहरुलाई तलब सुविधान नदिएर पक्षपातपूर्ण व्यवहार गरेको अन्टुफले जनाएको छ ।

संघीय उद्योगमन्त्रीको उद्योगमा नै मजदुरहरुलाई सामाजिक सुरक्षामा सूचीकरण नगरिएको भन्दै अन्टुफ मोरङले तत्काल ऐन अनुसारको सुविधा दिन सचेत गराएको छ ।

अन्टुफ मोरङका उपाध्यक्ष धर्मलाल माझी भने, ‘उद्योगमन्त्रीको उद्योगका मजदुरहरुलाई नै सामाजिक सुरक्षामा सूचीकृत गरिएको छैन्, हामीले ऐनअनुसार सूचीकृत गर्न सुझाएका छौं ।’

‘कानुनको पालना गराउनेहरुको औधोगिक प्रतिष्ठानले नै कानुनको धज्जी उडाउँछ भने अन्य उद्योगमा कार्यरत मजदुरको अवस्था के होला ?’ उपाध्यक्ष माझीले प्रश्न उठाए ।

बन्दाबन्दीका बीच अन्टुफ मोरङका अध्यक्ष गंगा राम थापा, उपाध्यक्ष धर्मलाल माझी, सदस्य गोपाल लिम्बु सम्मिलित अनुगमन टोली औधोगिक करिडोरमा कार्यरत मजदुरहरुका साथै उद्योगको अवस्थाका बारेमा अनुगमन गरिरहेको छ ।

यस्तै एसिया केमिकलको पश्चिममा नेसनल पाइप फ्याक्ट्री रहेको भन्दै श्याम गौतमले त्यहाँको अवस्था त्योभन्दा बेहाल रहेको बताएका छन् ।