उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न सरोकारवालाहरुलाई प्रधानमन्त्रीको निर्देशन

१ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।

आईतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजना लगायतका सरोकारवाला निकायका मन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार अपरान्ह काठमाडौंको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलले बगाएर निधन भएको र सामाखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाउँदा बगाउँदै उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिए । “एउटै खाल्डो खनेर बनाउन सकिने तपाईहरु किन तीन पटक खाल्डो खन्नुहुन्छ ?” प्रधानमन्त्रीले भने, “अब समन्वय गरेर काम गर्नुहोस् ।” प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशन दिए ।

उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, शहरी विकास मन्त्री प्रभु साह, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थ सचिव, भौतिक योजना सचिव, उर्जा सचिव, खानेपानी मन्त्रालयका सचिव, नेपाल टेलिकमका कार्यकारी निर्देशक, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतका सरोकारवाला निकायको प्रमुखहरुको उपस्थिति थियो ।

तपाइको मत