२४ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिले अति विपन्न मजदुरहरुलाई राहत वितरण गरेको छ ।
बन्दाबन्दीले दैनिक गाडी चलाएर गुजारा चलाउन सकस भएका चालक मजदुरहरुलाई उपत्यका ट्याक्सी विशेष समितिले राहत वितरण गरेको हो ।
उपत्यका ट्याक्सी विशेष समितिका सचिव निरज के.सी.ले गाडी चलाएर दैनिकी चलाउनेहरुको दैनिकी संकटमा परेपछि संगठनको स्वपहलमा चालक, सहचालक मजदुरहरुलाई राहत वितरण गरेको जानकारी दिए ।
उनले यसैहप्ता अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेश अध्यक्ष दिपक केसीको उपस्थितिमा ज्ञानेश्वरमा ४१ परिवार साथै सुनधारा, भोटेबहालमा १३ परिवार र आज चक्रपथ, बाँसबारी, चपली घुम्ती, बुढानिलकण्ठमा २८ परिवारलाई राहत वितरण गरेको बताए ।
उनले कोरोना संक्रमणले भन्दा पनि भोकको संक्रमणले मजदुरहरु अप्ठ्यारोमा परेको भन्दै बन्दाबन्दीले सृजना भएको कष्टकर दैनिकीलाई सामान्य राहतस्वरुप संगठनले विगत केही दिनदेखि सवारी चालक मजदुरहरलाई राहत वितरणमा गरिरहेको जानकारी दिए ।
उपत्यका ट्याक्सी विशेष समितिका उपाध्यक्ष रविन्द्र भुपाल, उपाध्यक्ष टंक खत्री, सचिव निरज केसी, कोषाध्यक्ष नवीना खड्का र सहकोषाध्यक्ष मिलन राई लगायत आपतविपदमा परेका चालक मजदुरहरुलाई राहत वितरण गर्न खटिरहेका छन् ।