१ बैशाख ०७४, काठमाडौं । नयाँ वर्षको पहिलोदिन अर्थात् आज २०७४ बैशाख १ गतेदेखि यातायत व्यवस्था विभाग, ट्राफिक महाशाखा र काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकालाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ ।
सवारी चालकले नयाँ नियम अनुसार काठमाडौँ उपत्यकाभित्र जथाभावी हर्न बजाउन पाउने छैन ।
नियम शुक्रबारदेखि सार्वजनिक, निजी, पर्यटकवाहक र सरकारी सबै सवारी साधनमा लागू हुनेछ । आकस्मिक सेवाका साधनहरु जस्तै दमकल, एम्बुलेन्स, प्रहरी भ्यानहरुमा भने नियम लागू हुने छैन ।
कसैले यो नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गर्नेछन् । त्यस्तै, दोस्रो पटकमा कारबाहीमा परे १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । तेस्रो पटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ले व्यवस्था गरे अनुसार नो हर्नको व्यवस्था ल्याएको बताए ।
दफा १६४ को (ग) मा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उल्लेख छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामाकाअनुसार चालकले हर्न नबजाउँदा दुर्घटना हुने सम्भावना भएमा साथै मोडमा हर्न बजाउन पाइन्छ ।
डिआइजी लामाले भने ‘हर्न बजाएर यात्रु बोलाउने, साथीलाई इशारा गर्ने, ट्राफिक इशारा दिन हर्न बजाउनेलाई कारबाही हुन्छ ।’