चिनियाँ कम्पनीसँगको बुढीगण्डकी सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको प्रचण्डको भनाई

२९ कार्तिक ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्पनीसँग गरेको बुढीगण्डकी जलविद्युत सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताएका छन् ।

आफूहरु सरकारमा मुख्य घटक भए पनि सरकार एकलौटी रुपमा चलेको भन्दै प्रचण्डले असन्तुष्टि जनाए ।

चितवनमा सञ्चारकर्मीहरु कुरा गर्दै माओवादी अध्यक्ष  प्रचण्डले बुढिगण्डकीको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताएका हुन् ।

धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको र यो सफल हुँदा आर्थिक क्रान्ति नै हुने अवस्था रहेको भन्दै प्रचण्डले भने, ‘सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न मिल्दैन । बुढीगण्डकी एकलौटी ढंगले खारेज गरिएको छ । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।’

प्रचण्ड सरकारले अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । तर, संसदीय समितिले निर्देशन दिएको भन्दै देउवा सरकारले हालै मात्र सम्झौता खारेज गरेको छ ।

तपाइको मत