२३ भदौ ०७४, काठमाडौं । प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार छनोटको बिषयलाई लिएर प्रमुख राजनीतिक दलमा आन्तरिक कलह चर्केको र त्यसले गर्दा चुनावी प्रचारलाई समेत प्रभाव पारेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको आन्तरिक विवादले कार्यकर्तामाझ अन्यौल खडा गरेपछि नेताहरुलाई चुनावी कार्यक्रमतिर भन्दा आन्तरिक व्यवस्थापन गर्नै अलमल भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
असन्तुष्टीकै कारण पार्टीबाट विद्रोह गरी उम्मेदवार दिनेहरु पनि अघिल्ला चरणका तुलनामा प्रदेश २ मा बढी छन् । उपमेयरका तुलनामा मेयरमा बढ्ता स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र भएर उठ्नेमा सवैभन्दा बढी वडा अध्यक्षका आकांक्षी छन् । वीरगन्ज महानगरपालिकामा राजपा नेता विमल श्रीवास्तव पार्टीले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका छन् । राजपाका सांसद जंगीलाल राई औपचारिक रुपमै पार्टी छाड्ने तयारीमा छन् । उनी निकटका नेताहरु एमालेबाट टिकट लिएर चुनावी मैदानमा आएका छन् ।
उम्मेदवारी दिंदा नेताहरुले इमानदार, पार्टीमा लामो समय क्रियाशील र सघर्ष गरेकालाई भन्दा आर्थिक हैसियतमा रहेका, नेताका वरीपरी घुम्ने र नातागोतालाई च्यापेको आरोप छ ।
नेताहरुले टिकट दिंदा मधेसका जातिय बाहुल्यलाई पनि प्रमुख आधार बनाएका छन् । जसले अन्य अल्पसंख्यक जाति असन्तुष्ट छन् । जनकपुर उपमहानगरपालिकामै सवैजसो दलले साह थरकालाई उम्मेदवार बनाएका छन् । कांग्रेस, एमाले, राजपा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयां शक्ति नेपाल र फोरम लोकतान्त्रिकले साह थरकालाई छानेका छन् ।
त्यस्तै, धनुषाको पूर्व तथा दक्षिणमा यादव थरकालाई उम्मेदवार बनाइएको छ । उत्तरी क्षेत्र थारु बाहुल्य हो । अधिकांश दलले त्यहाँ थारुलाई उम्मेदवार बनाएका छन् । धनुषा मात्रै नभएर मधेसका ८ वटै जिल्लामा यस्तो अवस्था देखिन्छ । ‘यस्तो संस्कृति लोकतन्त्रको विकृति हो’, लाभले भने, ‘राम्रो मान्छे अल्पसंख्यक र बहुसंख्यक दुवैमा हुन सक्छन, जातिय भोटलाई हेरेर उम्मेदवार बनाउनु गलत हो ।’
राजविराजका बुद्धिजिवि शिवहरि भट्टराईले पुराना र त्यागी कार्यकर्तालाई उम्मेदवार नबनाएको गुनासो सवैजसो जिल्लामा देखिएको बताए । राजपाभित्र एकीकरण हुनुअघिका ६ पार्टीका नेतालाई मिलाएर उम्मेदवार बनाउनु चुनौति त थियो नै, कांग्रेसमा पनि त्याग र निष्ठावान कार्यकर्तालाई बन्चित गरियो । ‘नगरपालिकामा चुनाव जित्न करौडौ रुपैया खर्च हुने अबस्था छ । त्यसैलाई हेरेर नेताहरुले पैसा भएका, पर्दा आफूलाई पनि सहयोग गर्ने व्यापारीलाई उम्मेदवार बनाए’, भट्टराई भन्छन् ।
कांग्रेसको पार्टीभित्र व्यापक छलफल गरेर उम्मेदवार छनोट गरिएको दावी गरेता पनि मधेसका ८ जिल्लामा टिकट वितरण गर्दा कांग्रेस नेता विमलेन्द्र निधि हावी भएको गुनासो पार्टीभित्रै छ । गृहजिल्ला जनकपुरमै कांग्रेसमा असन्तुष्टी छ । निधिको आफ्नै निर्वाचन क्षेत्रमा पर्ने नगराईन नगरपालिकामा समेत कांग्रेसको स्वतन्त्र उम्मेदवारी परेको छ । कोषाध्यक्ष सीतादेवी यादवको गृहजिल्ला सिरहामा सवैभन्दा बढी असन्तुष्टि छ । सीतादेवीले आफ्नै छोरा डा. सुवास यादवलाई सिरहा नगरपालिकामा उम्मेदवार बनाएकी छन् । जसको सार्वजनिक रुपमै विरोध भएको छ ।
एमाले नेता रघुवीर महासेठले पनि उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै एमाले कार्यकर्तामा पनि असन्तुष्टी छ । असन्तुष्ट पक्षले विहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए, तर, नेतृत्व तहबाटै थामथुम पारियो । कार्यकर्ता तहमा असन्तुष्टी भने कायमै छ । कांग्रेस र राजपाका तुलनामा भने एमालेको असन्तुष्टी कम छ । बरु मधेसका दुई बलिया शक्ति कांग्रेस र राजपाभित्रको असन्तुष्टीको लाभ लिन एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक लागि परेका छन् ।
राजपाका महासचिव मनिष सुमनले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने काम केन्द्रीय तहबाट बुधबारदेखि नै भईरहेको बताए । उनका अनुसार असन्तुष्टिलाई आउँदो प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यवस्थापन गरिनेछ ।
कांग्रेसले पनि असन्तुष्टि व्यवस्थापन गर्न यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतालाई जिम्मा दिएको छ । यस क्षेत्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय स्तरका सवैजसो नेता जिल्लामै छन् । उनीहरुमार्फत पार्टीभित्रको असन्तुष्टी मेटाउने प्रयास भइरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयं यस क्षेत्रमै लामो समय बसेका थिए । उनै उम्मेदवार छनोट गर्न र असन्तुष्टलाई चित्त बुझाउन लागेकाले माओवादीभित्र ठूलो समस्या आएन ।
मधेसमा पनि अघिल्ला दुई चरणमा जस्तै प्रभाव देखाउन माओवादी केन्द्रले सत्तारुढ कांग्रेसंग तालमेलमै बढी प्रयास गरेको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवासंग माओवादी अध्यक्ष दाहालले राजमार्ग क्षेत्रमा माओवादीलाई कांग्रेसले सघाउनुपर्ने र राजमार्ग दक्षिणका क्षेत्रमा कांग्रेसलाई आफ्नो पार्टीले सघाउने गरी तालमेलको प्रस्ताव गरेका थिए ।
तर, दुवै पार्टीभित्रको आन्तरिक झगडाका कारण संभव नहुदा धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा मात्रै तालमेल भएको छ । सत्तारुढ दुइ दलबीच तालमेल नहुँदा र आन्तरिक झगडा चर्कदा एमालेमा बढी नै उत्साह छाएको छ । एमाले नेता शत्रुधन महतोका अनुसार एमाले विहानदेखि रातीसम्मै प्रचार प्रसारमा खटिएको छ । एमालेको प्रचार बढी राजमार्ग केन्द्रित देखिएको छ । ‘एक, दुई दिनभित्र कांग्रेस र राजपाभित्रको असन्तुष्टी कसरी व्यवस्थापन हुन्छ, त्यसका आधारमा चुनाव कसको पक्षमा जान्छ भन्ने आकंलन गर्न सकिन्छ’ बुद्धिजीवी लाभ भन्छन, ‘अहिले यी दुई पार्टीको आन्तरिक व्यवस्थापन नै मुख्य चूनौति बनेको छ ।’