एउटा प्रक्रियामा जान खोज्दैछौं, फेरि यो कुरा किन ? – प्रचण्ड

१४ जेठ ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दलका अध्यक्षलाई संकेत गर्दै हत्याराको रुपमा जेल बसेको भन्नु जायज हुन्छ भनी प्रश्न उठाएका छन् ।

जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको जवाफ दिने क्रममा शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको भन्दै प्रचण्डले कटाक्ष समेत गरे ।

उनले भने, ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो । जनतालाई धम्क्याएको कुरा गर्नुभयो । मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु । हामी अहिले जसरी उपस्थित भएका छौं त्यो शान्ति सम्झौतामार्फत् छौं । १२ बुँदे समझादारी हुँदै यही हलमा बसेर ऐतिहासिक सहमति भनेको होइन ? एउटा प्रक्रियामा हामी जान खोज्दैछौं, फेरि यो कुरा किन ?’