२८ पुस ०७६, राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरुलाइ पक्राउ अभियानमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ ।
६ दिनअघि एकै दिन १७ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको प्रहरीले फेरी एकै दिन १० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफलता प्राप्त गरेको छ ।
डिएसपी तिलक भारतीका अनुसार पक्राउ पर्नेहरुमा तीन महिलासहितसबै १० जना एउटै नगरपालिकाका छन् । उनीहरुमध्ये कुटपट मुद्दाका सर्वाधिक ७ जना छन् । सो मुद्दाका पक्राउ पर्ने फरार प्रतिवादीहरुमा खडक नगरपालिकाका हरेराम साह, सशत्रुहन साह, अमिन मियाँ, जमिला खातुन, सदाय मियाँ, अनेसुन खातुन र सनाबुल मियाँ छन् ।
सवारी ज्यान मुद्दाका इनरलाल साह, जालसाजि मुद्दाका इस्लाम मियाँ र गाली बेइजती मुद्दाका फरार प्रतिवादी घुरनीदेवी यादव पनि पक्राउ परेका छन् । उनीहरु पनि खडक नगरपालिकाकै बासिन्दा रहेको डिएसपी भारतीले जानकारी दिए ।
आइतबार साँझ पक्राउ परेका उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतमा बुझाइएको छ । यो सँगै एक महिनाको अवधिमा विभिन्न अपराधका फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५२ पुगेको छ ।
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ गोरपार वन क्षेत्रबाट एक थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
अवैध रुपमा वनजंगल क्षेत्रभित्र बन्दुक लिएर दुई यूवक सिकार खेल्न पुगेको खबर पाएपछि सशस्त्र प्रहरी बल भारदह वेश क्याम्पबाट प्रहरी सहायक निरीक्षक बैजनाथ झाको कमान्डमा खटिएको टोलीले कंचनरुप नगरपालिका १ बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० बस्ने ३० वर्षिय रबिन तामाङ पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने २५ थान सर्रा र केही मात्रामा बारुद्ध बरामद गरिएको तथा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।