१९ पुस, काठमाडौं । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदभित्र सोमबारको संसद बैठकमा हातमा ‘सुुर्ती’ थुकेर संसदभित्रै फालेको भिडियो सार्वजनिक भएसँगै अमर्यादित गतिविधि गरेको भन्दै चर्को आलोचना भएपछि गल्ती स्वीकार गरेका छन् ।
मन्त्री केसीले मंगलबार एक कार्यक्रममा आफू केही दिनदेखि अस्वस्थ रहेको भन्दै एक्कासी घाँटी सर्किएकाले गल्ती भएको बताएका हुन् ।
‘एक्कासी घाँटी सर्क्यो, मैले गल्ती गरेकै हो’ आफू केही दिनदेखि अस्वस्थ रहेको भन्दै मन्त्री केसीले भने, ‘संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ । तर हिजो त्यस्तो भयो ।’
सरकारले पुस १ गतेदेखि गाडीको झ्यालबाट थुक्न नपाइने नियम लगाएको छ । तर, सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्रीले हातमा खैनी थुकेर टेवलमुनि फुत्त फालेको दृश्यले नियम, कानुनको राम्रैसित उपहास गरेको छ ।
शहरी विकास मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले सोमबार संसदमा बैठक चलिरहेका बेला मुखमा केही चलाए । उनले गिजामा च्यापेको खैनी जिब्रोले चलाएर ओठ नजिकै ल्याए । अनि आफ्नै हातमा त्यो खैनी थुके र टेवल मुनि फ्यात्त फालेका थिए ।
सार्वजनिक स्थलमा धूमपान वर्जित छ । तर, मन्त्रीज्युलाई खैनी च्यापेर संसद् बैठकमा बस्नु सोभनीय होइन भन्ने पक्कै थाहा हुनुपर्ने हो । अझ त्यसरी हातमा खैनी थुकेर आफ्नै सीटमुनि फाल्नु सुहाउने विषय हो र ?