मोरङ । सशस्त्र प्रहरीले बिराटनगर भन्सारबाट नेपाल ल्याउँदै गरेको अवस्थामा एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद गरेको छ ।
भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले मंगलबार नेपाल–भारत संयुक्त जाँच चौकी (आइसिपी) बाट खाली कन्टेनरमा नेपाल ल्याउँदै गरेको एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद गरिएको बताए ।
मोरङको विराटनगरमा रहेको रानी नाकाबाट १ करोड ९ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित गाडीका चालक दार्जिलिङका २४ वर्षीय रवीन्द्र शर्मा र भारतकै महजपुर जिल्लाका १८ वर्षीय पप्पु कुमार दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक नेत्र कार्कीले जानकारी दिए ।
भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली गाडी जाँच गर्ने क्रममा बोराभित्र राखेको अवस्थामा रकम बरामद भएको प्रहरीले जनाएको छ ।
यसअघि लकडाउनले गर्दा भन्सारबाट खाली सवारीसाधन जाँच नगरी छाड्ने गरिएको थियो । तर, तीन–चार दिनदेखि सशस्त्रले गोप्य सूचनाको आधारमा खाली सवारीलाई समेत जाँच गर्न थालेको थियो ।