एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड निकाल्न नपाउने

२३ असार ०७७, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्डको सम्भावित दुरुपयोग रोक्न एक व्यक्तिले आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न नपाउने बताएको छ ।

प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

प्राधिकरणले कार्यान्वयनका लागि सेवा प्रदायक कम्पनीलाई निर्देशन दिइसकेको भन्दै निर्देशक विजय रोयले बैङ्क तथा वित्तीय संस्थामा फोन नम्बरको दुरुपयोग हुनसक्ने र एक व्यक्तिको सिमकार्ड अरूले प्रयोग गर्दा आउन सक्ने समस्यालाई ख्याल गरेर यस्तो निर्णय गरिएको बताए ।

नेपाल प्रहरीले पनि सिमकार्ड वितरणलाई व्यवस्थित गर्न अनुरोध गरिरहेको बेला प्राधिकरणलाई यस्तो निर्णय गरेको हो ।

अहिले एक व्यक्तिले कुनै एक दूरसञ्चार सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिएको भएमा त्यसबारे जानकारी गराउनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायकको नै रहने प्राधिकरणले बताएको छ ।

प्राधिकरणले यसरी दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत् जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिइएको छ ।

प्राधिकरणको निर्णयअनुसार नेपाल टेलिकमले सीडीएमए सेवासमेत उपलब्ध गराइरहेकाले एक व्यक्तिको नाममा तीनवटासम्म सिमकार्ड जारी गर्नसक्ने सुविधा दिएको छ ।

यद्यपि, एनसेल र स्मार्टले भने दुईवटा सिमकार्ड मात्र जारी गर्नसक्ने छन् । प्राधिकरणको उक्त बोर्ड बैठकले अबदेखि अभिभावकको नाता प्रमाणका आधारमा नाबालकका नाममा पनि सिमकार्ड लिन पाउने बाटो खुला गरेको छ ।