१० कार्तिक ०८२, काठमाडौं । भदौ २३ र २४ गतेको घटनापछि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले समाज कल्याण परिषद्लाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ)हरूलाई आएको वैदेशिक सहयोगको विवरण पेश गर्न भनेको छ ।
आयोगका अध्यक्ष कार्कीले समाज कल्याण परिषद्सँग विवरण मागिएको पुष्टि गरेका छन् ।
‘हामीले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेका छौं,’ उनले भनेका छन्, ‘त्यो बाहेक अहिले अरू केही होइन ।’
उनले कुनै निश्चित संस्था वा ठाँउको मात्रै नभएर देशभरका संघ–संस्थाहरूमा आएको सहायता विवरण मागिएको जानकारी दिए ।
दातृ निकाय तथा नेपालमै रहेका कतिपय संघसंस्थाहरूले गरेको सहयोगमाथि प्रश्न उठेका बेलामा आयोगले गैरसरकारी संस्थाहरूको आम्दानी र उनीहरूको कार्यक्रमसहित खर्चको विवरण मागेको हो ।













