२७ पुस ०७४, काठमाडौं । विशेष अदालतले दुई वर्षअघि गोल्डेनगेट कलेजको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई दोषी ठहर गरेको छ ।
बुधवार विशेष अदालतले प्रश्नपत्र चुहावट प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको हो । सो प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने अदालतले सफाई दिएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले देवीराम पाण्डेलाई ९ महिना कैद तथा ५ लाख ५ हजार जरिवानाको फैसला सुनाएको हो । त्यसैगरी हरिहर भनिने खेचरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैंया जरिवानाको फैसला भएको छ ।
प्रश्नपत्र आउट गराउने कार्यका संलग्न मुख्य योजनाकार मानिएका प्रभात कुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैंया, धमेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख रुपैंया, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैसला सुनाएको छ ।
वि.स २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका संचालकको योजनामा प्रश्नपत्र आउट भएको अदालतको ठहर छ । परीक्षाको प्रश्नपत्र गोल्डेनगेटबाट परीक्षा सुरु हुनु भन्दा ६ मिनेट अघि प्रश्नपत्र आउट भएको थियो ।













