१२ असार, काठमाडौं । नागरिक आवाज लगायत विभिन्न संघ संस्थाले आज अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजीको माग गर्दै बसन्तपुरमा विरोध प्रदर्शन गर्दैछ ।
एमसीसी विरोधी सम्पूर्ण शक्ति र संघ–संस्थाहरुद्वारा एकीकृत र केन्द्रीकृत रुपमा नागरिक आवाज बुलन्द गरौं, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन भन्दै आज १ बजे काठमाडौको बसन्तपुरमा विरोध प्रदर्शन गर्ने भएका हुन् ।
नागरिक आवाज, उपत्यका संघर्ष समितिले असार ५ गते उपत्यकाका तीनै जिल्लामा एमसीसीको भण्डाफोर गर्दै मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजीका लागि एकहप्ते उपत्यकाव्यापी सांस्कृतिक शान्ति पदयात्रा सुरु गरेको थियो ।
आज सो शान्ति पदयात्राको अन्तिम तथा एमसीसी खारेजीका लागि थप दबाबको नयाँ कार्यक्रमको थालनी स्वरुप आज बसन्तपुरमा विरोध कार्यक्रम गर्न लागिएको नागरिक आवाजका एक सदस्य तथा एमसीसी खारेजी अभियानका अभियान्ता अनिस बैद्यले जानकारी दिए ।
नागरिक आवाजका संयोजक असोज महर्जन, सदस्य रबिन्द्र कुमार, उपत्यका आन्दोलन परिचालन कमिटीका संयोजक सुमन सायमी लगायतका विभिन्न संघ संस्था जनताले स्वीकार नगरेको राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)लाई जवर्जस्ती संसदबाट पास गर्न खोजे जस्तोसुकै मूल्य चुकाउने भन्दै खारेजीका लागि आन्दोलनमा रहेको छन् ।
“एमसीसी हामी लिँदैनौ, अमेरिकी गुलाम बन्दैनौं, आत्मनिर्भरताको विकास गर, हाम्रो उत्पादनशील भूमिको संरक्षण गर, संस्कृति सम्पदाको संरक्षण गर, सहअस्तित्वको सम्मान गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यतामाथिको आक्रमण बन्द गर, जनउत्तरदायित्व बहन गर, सबै भ्रष्टचारीहरूलाई कारबाही गर साथै राष्ट्रिय स्वाधीनताको रक्षा गर, नागरिक आवाजको सुनुवाई गर” भन्दै नागरिक आवाज सडक आन्दोलनमा रहेको छ ।