एमसीसी सम्झौताविरुद्ध बसन्तपुरमा ‘नागरिक शान्ति सभा’

१३ असार ०७७, काठमाडौं । नागरिक आवाजले एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै काठमाडौंको बसन्तपुरमा ‘नागरिक शान्ति सभा’ सम्पन्न गरेको छ ।

“राष्ट्रिय स्वाधीनता, सह–अस्तित्व तथा सुशासनको पक्षमा, राष्ट्रघाती एमसीसी सम्झौता समेतको विरुद्धमा” मूलनारा दिइएको ‘नागरिक शान्ति सभा’ शुक्रबार सम्पन्न भएको हो ।

नागरिक आवाजको साताव्यापी सांस्कृतिक शान्ति पदयात्रा मुख्य अभियान्ता एवम् अभियान्ता अनिस वैद्य, रबिन्द्रकुमार श्रेष्ठ, उपत्यका संयुक्त आन्दोलन संघर्ष समितिका संयोजक सुमन सायमीको विशेष पहलमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजी साथै गुठी स्वायत्तता, सम्पदा संरक्षणको मागसहित शुक्रबार अपरान्ह बसन्तपुर पुगेर “नागरिक शान्ति सभा”मा परिणत भएको नागरिक आवाजका संयोजक असोज महर्जनले बताए ।

नागरिक आवाजका एक सदस्य तथा सीमा बचाउ अभियानका समेत सदस्य रहेका रबिन्द्र श्रेष्ठले संविधान र सरकारभन्दा माथि रहने एमसीसी खारेज हुनुपर्ने भन्दै लिम्मियाधुरा, कालापानी, लिपुलेक हकभोगमा ल्याउनु पर्नेमा जोड दिए ।

“एमसीसी भनेको एउटा परियोजना न हो, यति थोरै रकमका लागि जुन सम्झौता भएको छ र जुन संसदबाट पास गर्ने कुरा छ, यो राष्ट्रघाती छ र खारेज हुनुपर्दछ” श्रेष्ठले भने, “जनयुद्ध साथै बीसौ हजार जनताको बलिदानको जगमा बनेको संविधानलाई एउटा परियोजनाले निष्क्रिय बनाउने अधिकार दिने छुट जनतालाई स्वीकार्य छैन् ।”

शान्ति सभाका वक्ताहरुले कुनै पनि सहयोगको नाममा देश बेच्न नपाइने भन्दै राष्ट्रिय स्वाधीनताको पक्षमा मत राख्दै एमसीसी खारेज हुनपर्ने बताएका थिए ।

यस्तै नागरिक आवाजका एक सदस्य तथा एमसीसी खारेजी अभियानका अभियान्ता अनिस बैद्यले नागरिक शान्ति सभा एमसीसी खारेजीका लागि थप दबाबको नयाँ थालनी समेत भएको बताएका छन् । उनले आफूहरु मर्न तयार रहेको तर राष्ट्रिय स्वाधीनताका लागि झुक्न तयार नरहेको बताए ।

यस्तै नागरिकले जनस्तरबाट अस्वीकार भएको राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता कुनैपनि हालतमा खारेज गर्नुपर्ने भन्दै उनले उपत्यकाका नेवार गुठी स्वायत्तताको मागको मर्म विपरीत गुठी विधेयक सुझाव समिति गठन गरेकोमा पनि आपत्ति जनाएका थिए ।

यसैगरी नागरिक आवाजका संयोजक असोज महर्जन, उपत्यका आन्दोलन परिचालन कमिटीका संयोजक सुमन सायमी लगायतले जनताबाट अस्वीकृत भएको राष्ट्रघाती एमसीसी सम्झौता खारेज नै हुनुपर्नेका जोड दिएका थिए ।

“एमसीसी हामी लिँदैनौ, अमेरिकी गुलाम बन्दैनौं, आत्मनिर्भरताको विकास गर, हाम्रो उत्पादनशील भूमिको संरक्षण गर, संस्कृति सम्पदाको संरक्षण गर, सहअस्तित्वको सम्मान गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यतामाथिको आक्रमण बन्द गर, जनउत्तरदायित्व बहन गर, सबै भ्रष्टचारीहरूलाई कारबाही गर साथै राष्ट्रिय स्वाधीनताको रक्षा गर, नागरिक आवाजको सुनुवाई गर” भन्दै नागरिक आवाजले यही असार ५ गतेबाट उपत्यकाका तीनै जिल्लामा एमसीसीको भण्डाफोर गर्दै एकहप्ते उपत्यकाव्यापी सांस्कृतिक शान्ति पदयात्रा सुरु गरेको थियो ।