१८ मंसिर, बुटबल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एमालेलाई आन्दोलनको कार्यशैली नफेरिए एमालेका देशभरका जिल्ला कार्यालयमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
बुटवलमा सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति आक्रोशित विप्लव माओवादी रुपन्देहीका सेक्रेटरी शरद वलीले शनिवार एमालेले बुटवलमा आयोजना गरेको बैठक कक्षमा नै पुगेर आन्दोलनको कार्यशैली नफेरिए एमालेका ७५ वटै जिल्लामा रहेका जिल्ला कार्यालय र एमालेका देशभरका प्रतिष्ठानमा कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले आफुहरु जनयुद्धबाट आएको र अहिले पनि संघर्षरत रहेको भन्दै एमालेको कार्यशैली नसुध्रिए महङ्गो मूल्य चुकाउनु पर्ने भन्दै प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए ।
प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला टुक्राउने गरी सरकारले ल्याएको संशोधन प्रस्तावको विरोधमा बुटवलमा बिहीवार सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लव माओवादीको कार्यालयमा समेत आक्रमण भएको थियो । उक्त आक्रमणमा एमालेले आफ्नो संलग्नता नरहेको जनाए पनि उसैले आन्दोलन गरेकोले तोडफोडको जिम्मेवारी लिनु पर्ने दवाव छ ।