एमालेको मुख कतै खुल्ला, कतै बन्द !

१९ भदौ, काठमाडौं । ‘अगुल्ठोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ’ भने झैं एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमण बारे विभिन्न टिका टिप्पणी भइरहेकै बेला एमालेले कतै मुख खोलेको छ भने कतै मौन बसेको छ ।

UML

एमालेले अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचका लागि निजी खर्चमा थाइल्याण्ड गएको प्रष्ट पारेको छ । पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि ओलीले राज्यकोषबाट एक पैसा पनि नलिएको एमालेको दाबी छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार पार्टी अध्यक्ष ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट नियमित स्वास्थ्य जाँच र दुई साता बिदा मनाउन पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र पोलिटब्यूरो सदस्य विष्णु रिमालसहित थाइल्याण्ड भ्रमण गएका हुन् ।

सञ्चारमाध्यममा हल्ला गरे जसरी ओलीले राज्य कोषबाट उपचार खर्च लिएर गएको छैन् भन्दै एमालेले राज्य कोषबाट उपचार खर्च लिएको भए सार्वजनिक गर्न समेत सम्बन्धित निकायहरुलाई चुनौति दिएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका ओली सोमबार नेपाल फर्कंदैछन् । यस अघि ओलीको थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार हुँदा राज्यले १ करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च व्यहोरेको थियो ।

भारतीय खुफिया एजेन्सीका मान्छेसँग ओलीको भेटबारे मौन बस्यो एमाले

यद्यपि, एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गराउन भनेर थाइल्याण्डको राजधानी बैंकक पुगेका भए पनि भारतीय खुफिया एजेन्सीका मान्छेसँग भेट गरेको भित्री रहस्य सञ्चार माध्यममार्फत् बाहिर आएका छन् ।

भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परीक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ ।

स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्डविरुद्ध योजना बनाउन ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड पुगेका छन् ।

तपाइको मत