२१ फागुन, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले, एमालेको मेची-महाकाली अभियानले मधेसमा द्वन्द्व बढ्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा तमलोपा अध्यक्ष ठाकुरले ’जनतामा आक्रोश छ, ठाउँ-ठाउँमा आन्दोलनहरु भइरहेको छन्, यस्तो अवस्थामा एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ ’ भने ।
आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको भन्दै उनले भने, ‘यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार पाउँदैन ।’
तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै आफूहरुले उठाएका मागहरु मधेशका मात्रै नभई देशकै माग भएकाले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गरेर मात्रै चुनावको कुरा गर्नुपर्ने बताएका थिए ।